
कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावाली घोषणा गर्दै कार्यसमिति चयन समितिका संयोजक एनआरएन यूकेका सल्लाहकार तथा बुद्धिजीवी शिवजी श्रेष्ठले वेल्सका सबैजसो क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व हुने गरी टीम चयन गरिएको जनाए । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई स्थानीय समाजसेवी बीर शंकर राईले शपथ ग्रहण गराएका थिए । कार्यसमितिका नवानिर्वाचित अध्यक्ष रामचन्द्र पोखरेलले देश र समुदायको हितमा एनआरएन यूकेसंग सहकार्य गरी अघि बढ्न आफुले प्रयत्न गर्ने प्रतिबद्दता गरे । त्यसअघि एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग प्रमुख ललित न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्र एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा एनआरएन यूके कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, वेल्सस्थित विभिन्न नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधीहरुको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले वेल्समा पहिलोपटक एनआरएन यूकेको राज्य परिषद गठन हुनु संस्थाको लागि ऐतिहासिक उपलब्धी रहेको बताए । ‘एनआरएन यूके इङ्ग्ल्याण्डबाहिर बेलायतका अन्य राज्यमा पुग्न विगतमा ढिलाई भएकै हो, ती कमिकमजोरीका लागि हामीलाई माफी दिनुहोला’ , अध्यक्ष फगामीले थपे, ‘तर अन्तत: हामी तपाईहरुको माझमा आइपुगेका छौं ।अब तपाईहरुसंगै साथमा साथ मिलाएर हामी अघि बढ्नेछौ भन्ने म विश्वास दिलाउन चाहन्छु ।’ एनआरएन यूकेलाई वेल्ससम्म ल्याइपुर्याउन सहयोग गर्ने एनआरएन यूकेको कार्यसमिति, सल्लाहकार तथा अग्रज र वेल्सवासी सम्पुर्ण नेपालीहरुलाई धन्यवाद ज्ञापन गरे । एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभागका संयोजक ललित न्यौपानेले वेल्समा रहेका सम्पूर्ण नेपाली संघ संस्था तथा समुदायको सहभागितामा एनआरएन यूकेको परिषद गठन गरिएको बताए । पहिलोपटक वेल्समा परिषदको तदर्थ समिति गठन हुदै गरेको अवस्थामा निर्वाचन भन्दा सर्वासम्मतिमै टीम निर्माणको प्रयत्न गरिएको न्यौपानेले बताए ।
एनआरएन यूके महासचिव आरके त्रिपाठीले ढिलै भएपनि एनआरएन यूके अन्तत : लन्डन र इङ्ग्ल्याण्डभित्रको सिमा कटेर बेलायतका अन्य क्षेत्रका नेपालीमाझ पनि पुग्न सफल भएको धारणा राखे । ‘हामी ढिलै भएपनि तपाईहरु माझ आएका छौ । आपसी भाइचारा, भातृत्व र स्नेहको जगमा अब तपाईं हामी मिलेर एनआरएन अभियानलाई सार्थक बनाउनु छ’, वेल्सवासी नेपालीलाई आग्रह गर्दै महासचिव त्रिपाठीले भने, ‘सामाजिक कामहरु कसैको एक्लो व्यक्तिगत प्रयासबाट सम्भव नहुदो रहेछ । त्यसैले एनआरएन यूके आज तपाईहरुलाई हात दिन वेल्ससम्म आएको छ, तपाईहरुले साथ् दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ‘ । विदेशमा जन्मिएर हुर्किदै गरेको नयाँ पुस्तालाई नेपालसंग जोड्ने अभिभारा पनि अब एनआरएनको काँधमा आएको भन्दै महासचिव त्रिपाठीले स्थानीय युवाहरुलाई सोहीअनुसार सिकाउन र सहभागी गराउन वेल्सका एनआरएन अभियन्ताहरुलाई आग्रह गरे । एनआरएन यूके उपाध्यक्ष प्रेम गाहामगरले एनआरएन अभियान एक स्वयंसेवी तथा समाजसेवी अभियान रहेको उल्लेख गर्दै समय र योगदान दिन सक्नेले मात्र कार्यकारी भूमिका लिनुपर्ने धारणा राखेका थिए । उपाध्यक्ष गाहामगरले वेल्समा गठन भएको नयाँ राज्य परिषद समितिलाई भूपू गोर्खा, युवा लगायतका समाजका हरेक तप्कालाई एकजुट बनाएर एनआरएन अभियानमा सहभागी गराउन सुझाव दिएका थिए । एनआरएन अगुवा तथा बुद्धिजिवी शिवजी श्रेष्ठले स्थापनाकालदेखिका डेढ दशक इङ्ग्ल्याण्डमा मात्र सिमित रहेको एनआरएन यूके अहिले साँच्चिकै सिंगो बेलायतभर फैलिन सफल भएको बताए । एनआरएन यूकेमा आफ्नो सक्रिय सहभागिता सुनिश्चित गर्न वेल्सवासी नेपालीहरुले १० वर्ष अघिदेखि निरन्तर प्रयास गरेको स्मरण गर्दै श्रेष्ठले वेल्समा गठन भएको परिषदको पुर्ण सफलताको कामना गरे ।

कार्यकममा खुशी देवकोटा, प्रदिप सुवेदी , समिर अधिकारी, प्राजन पोख्रेल, शीर्षक काफ्ले, अबिजन देवकोटा, सिम्रन अधिकारी, आयुष्मा श्रेष्ठ, प्रान्जिल पोखरेल लगायतका कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । एनआरएन यूके राज्य समन्वय विभागका सचिव डा मुकुन्द बाँस्तोलाले कार्यक्रमको संचालन गरेका थिए भने वेल्स समन्वय परिषद गठन समितिका संयोजक प्रभु न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । एनआरएन यूके क्षेत्रीय अवधारणामा जाने योजना अनुसार बेलायतका ४ वटै राज्यमा स्थानीय परिषद गठन गर्ने क्रममा यस अघि नर्दन आयरल्याण्डमा परिषद गठन गरिसकिएको छ भने आउँदो जुलाई २ मा स्कटल्याण्ड र जुलाई १५ मा इङ्ग्लाण्डमा परिषद गठन गर्ने तयारी छ ।
समाचार लन्डन नेपाल न्युज डट कम बाट साभार गरिएको हो |